देशमा बेरोजगारीले पिल्सिएर रुसी सेनामा भर्ती भएका युवाले ज्यानको बाजी लगाएर कमाएको पैसाबाट किनेको जुत्ता अहिले नेपालको जेन–जी आन्दोलनको ‘आइकन’ बनेको छ।

काठमाडौँ — जेन–जी आन्दोलनको बलमा सत्ता बदलिएको दुई साता भइसक्यो तर त्यस आन्दोलनका अनेक दृश्य सामाजिक सञ्जालमा अझै घुमिरहेका छन् । तिनमा सर्वाधिक चर्चा र चासो बनेको दृश्य हो, रगतले लतपतिएको सेतो जुत्ता । जेन–जी विद्रोहको आइकन बनेको यो जुत्ताबारे सामाजिक सञ्जालमा अनेकन अड्कलबाजी भेटिन्छन् ।
आखिर यो जुत्ता थियो कसको ? कसको रक्ताम्य खुट्टाबाट छुटेको थियो यो जुत्ता ? कान्तिपुरले खोजबिन गर्दा थाहा भयो– यो जुत्ता २८ वर्षीय प्रकाश बोहराको हो । दैलेख, नारायण नगरपालिका–८ स्थायी घर भएका प्रकाश अहिले ट्रमा सेन्टरमा उपचाररत छन् ।
आन्दोलनको पहिलो दिन २३ भदौमा ११ बजेतिरै प्रकाश साथीभाइसँग माइतीघर पुगेका थिए । उनी आफ्नो पुस्ताको आवाज घन्काउँदै बानेश्वरतिर लम्किए । प्रहरीले अश्रुग्यास प्रहार गर्दा पनि पर्वाह गरेनन्, संसद् भवनको पर्खालनेरै पुगे । केही प्रदर्शनकारीले संसद् भवन बाहिरको पर्खाल भत्काउन सुरु गरिसकेका थिए ।
‘त्यहीँ मिसिएर मैले फलामे बार तान्दै गर्दा देब्रे खुट्टामा गोली लाग्यो । म लत्रक्कै परें,’ अस्पतालको बेडमा रहेका प्रकाशले सुनाए । गोली लाग्दै गर्दा सँगै गएका उनको सालो पर्ने विप्लव थापाले भिडियो खिचिरहेका थिए । भिडियोमा प्रकाशको सेतो जुत्ता प्रस्टै देखिन्छ । उनलाई गोली लागेपछि भने आन्दोलनकारी तितरबितर भएको भिडियोमा देखिन्छ ।
गोली लागेपछि खुट्टा रक्ताम्य भएको र साथीहरूले एम्बुलेन्समा चढाएको प्रकाशलाई याद छ । ‘मेरो खुट्टा लत्रिरहेको थियो । एम्बुलेन्समा हाल्ने बेला कसैले जुत्ता खोल्दे भनेको सुनेको थिएँ । खुट्टाबाट कसैले जुत्ता खोलिदिएको पनि सम्झना छ,’ उनले सुनाए, ‘त्यसपछि मलाई यहाँ (ट्रमा सेन्टर) ल्याइएछ । दाहिने खुट्टाको जुत्ता यहीँ आएपछि स्वास्थ्यकर्मीले खोलिदिएछन् ।’ ट्रमा सेन्टरमा उनको खुट्टाको शल्यक्रिया गरिएको थियो । आईसीयूमा उपचार चलिरहेका बेला प्रकाशले कसैको रक्ताम्य जुत्ताको फोटो भाइरल भएको सुनेका थिए । तर त्यो आफ्नै हो भन्नेमा उनलाई थाहा थिएन । आन्दोलनपछिको नवौं दिन विप्लवले सुनाए, ‘भिनाजु तपाईंको जुत्ता पूरै भाइरल छ त ।’
सुरुमा त उनले यसलाई सामान्य रूपमा लिए । दुई दिनपछि आईसीयूमा नर्सहरूसँग मोबाइल मागेर भाइरल भएको त्यो फोटो नियालेर हेरे । उनले सुनाए, ‘त्यसपछि म निश्चित भएँ, त्यो मेरै जुत्ता हो । त्यो जुत्तासँगै फेरि म आन्दोलनको सम्झनामा पुगेँ ।’
प्रकाशले विवरण सुनाएपछि कान्तिपुरले उनको दाहिने जुत्ताबारे अस्पतालको इमर्जेन्सी कक्षमा बुझ्यो । इमर्जेन्सीमा कार्यरत सरसफाइकर्मीले उनको खुट्टामा भएको दाहिने जुत्ता अस्पतालमा खोलिएको र जोडा नभएका कारण त्यसलाई फोहोर व्यवस्थापन गर्दा फालिएको बताए ।
जेन-जी आन्दोलनमा गोली लागेर घाइते भएका दैलेख नारायण-८ निवासी २८ वर्षीय प्रकाश बोहरा १७ दिनदेखि राष्ट्रिय ट्रमा सेन्टरमा। तस्बिर : अंगद ढकाल/कान्तिपुरयो जुत्ताको कथा यतिमै सीमित छैन । यससँग प्रकाशको संघर्षपूर्ण विगत पनि जोडिएको छ । २०७३ मा हेल्थ असिस्टेन्ट (एचए) पास गरेपछि प्रकाश लोक सेवा आयोगको परीक्षाको तयारीमा जुटेका थिए । भनेजस्तो नभएपछि उनले केही समय विभिन्न परियोजनामा काम गरे ।
केही समय दैलेख कारागारको स्वास्थ्य सेवा शाखामा पनि काम गरे । घरको सानो किराना पसल र सामान्य खेतीपातीबाट हुने आम्दानीका भरमा घर खर्च नचल्ने भएपछि प्रकाश आत्तिएका थिए । भूकम्पले भत्काएको घर बनाउँदा ऋण लागेको थियो । ऋण बढ्दै गएपछि उनले विभिन्न विकल्प खोजे, धेरैमा असफल भए । उनको छटपटी बढिरहेका बेला रुस–युक्रेन युद्ध सुरु भयो । साथीभाइको सल्लाहमा उनले रुसी सेनामा भर्ती हुन जाने निर्णय लिए ।
दुई वर्षअघि प्रकाश रुसी सेनामा भर्ती पनि भए, युक्रेनविरुद्धको लडाइँमा होमिए । यसरी रुसी सेनामा भर्ती भएका करिब ७३ नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । ५० जनाको डीएनए रिपोर्ट आउन बाँकी छ । ८ जना युक्रेनमा बन्धक छन्, कयौं घाइते र सम्पर्कविहीन छन् । तर संयोगले प्रकाश भने पाँच महिनाअघि सकुशल नेपाल फर्किन पाए ।
लडाइँका क्रममा युक्रेनको दोनेत्स्कसम्म पुगेका उनले भने, ‘मसँगै तालिम लिएका साथीहरू मारिए । म बालबाल बाँचेर फर्किएँ । तर आफ्नै देशको हितका लागि सडकमा ओर्लिंदा गोली खाएँ ।’ रुसी सेनाको कमाइबाट उनले बाइक किने । घर फर्किंदै गर्दा नेपालगन्जको एक पसलमा उनले सेलमा राखिएका दुई जोर जुत्ता पनि किने । त्यसमा एक जोर थियो– अहिले भाइरल बनेको सेतो जुत्ता । साम्बा ब्रान्डको त्यो जुत्ता उनले १५ सय रुपैयाँमा किनेका थिए ।
जुत्ता किनेपछि प्रकाशले श्रीमती राधिका खड्का बोहरालाई ह्वाट्सएपमार्फत फोटो पनि पठाएका रहेछन् । त्यही ह्वाट्सएपको अर्काइभ हेर्दा पनि उनकै जुत्ता थियो भन्ने पुष्टि हुन्छ । अर्काइभ खोल्दै उनले सुनाए, ‘मे ८ (२५ वैशाख) मा किनेको रहेछु ।’
जुत्ता किन्नुअघि प्रकाशले पत्नी राधिकालाई पनि सोधेका थिए । ‘उहाँले एकदम मनपर्यो भन्नुभएको थियो, मैले किन्नुस् न भनेकी थिएँ । उहाँले त्यो सेतो धेरै लगाउनुभएकै थिएन । सायद धेरै दुःखको कमाइले किनेकाले होला, एक दिन लगायो भने धोएर राखिहाल्नुहुन्थ्यो,’ उनले भनिन् ।
रुसी सेनाबाट फर्केपछि प्रकाश कतार प्रहरीमा जाने योजनामा थिए । त्यसैका लागि प्रक्रिया अघि बढाउन दुई महिनाअघि काठमाडौं आएका थिए । तर उनको मन थिर थिएन । देशभित्रको बेरोजगारी अनि कामकै लागि जीवनको दाउ लगाएर विदेशिनुपर्ने बाध्यताले आम युवाजस्तै उनी पनि बेचैन थिए । एक दिन कुरै कुरामा प्रकाशले आमासँग भनेका पनि थिए, ‘ममी, मलाई साह्रै चिन्ता लाग्छ । आफू जस्तोसुकै भए पनि देश बने हुन्थ्यो ।’ छोराको बचन सुनेर आमाले गहभरि आँसु पारिन् ।
त्यही बीच प्रकाशले आफूजस्तै बेचैन युवाहरू सडकमा उत्रिने खबर पाए । ‘म पनि जान्छु भनेर निर्णय लिएँ । कमसेकम मेरो भाइ पुस्ता अहिलेको जस्तो अवस्थाबाट गुज्रनु नपरोस् भनेर आन्दोलनमा गएको हुँ ।’
त्यो दिन बिहान आन्दोलनमा जान सेतो टोपी, सेतो ‘विन्डचिटर’ र सेतै जुत्ता लगाउँदै गर्दा प्रकाशको मनमा मिलिक्क एउटा शंका आएको थियो, ‘कतै मेरो यो सेतो कपडा रातो हुने त हैन ?’ तर, रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा खटिएका प्रकाश आफ्नो शंकामा धेरै घोत्लिएनन् ।

प्रकाश आन्दोलनमा गएको बा, आमा, श्रीमती कसैलाई थाहा थिएन । राधिकाले सुनाइन्, ‘छिमेकीले समाचारमा देख्नुभएछ । उहाँको नाम पनि घाइतेहरूको सूचीमा थियो । गोली लागेको खबरपछि त रुवाबासी नै भयो ।’ आमा नन्दाले छोरालाई गोली लागेको खबर सुन्दा छाँगाबाट खसेझैं भएको बताइन् । ‘दसैंका लागि बुधबार आउँछु भनेको थियो । तर दुई दिन अगाडि नै यस्तो खबर सुन्नुपर्यो,’ आँखाको टिलपिल आँसु पुछ्दै उनले भनिन् ।
प्रकाशकी आमा र १६ महिने छोरासहित राधिका अहिले अस्पतालमा कुरुवा छन् । कहिले प्रकाशलाई सन्चो हुन्छ र घर लिएर जान पाइन्छ भन्नेमा मात्रै उनीहरूको ध्यान छ । आमा नन्दाले सुनाइन्, ‘डाक्टरले यहाँ अझै धेरै समय बस्नुपर्छ भनेका छन् । तर कहिलेसम्म हो !’
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालका अनुसार प्रकाशको स्वास्थ्य सुधारोन्मुख छ । ‘उहाँको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको छ । गोलीले रक्तनलीको नसा र चेतना पाउने नसामा गहिरो असर छ । हामीले उपचार जारी राखेका छौं,’ उनले भने, ‘हड्डीमा पनि असर परेकाले थप अपरेसन गर्नुपर्नेछ ।’
आन्दोलनमा गोली लागे पनि प्रकाशलाई केही गुमाएझैं लागेको छैन । बरु आफूले परिवर्तनको आशा गरिरहेको उनले सुनाए । ‘जेन–जीले खाएको गोलीबाट बनेको सरकारले मृतक परिवार र घाइतेलाई राहत देओस् । भ्रष्टाचार अन्त्य गरोस्, सुशासन कायम गरोस्,’ उनको कामना यत्ति छ ।
प्रकाशित : आश्विन ९, २०८२ ०६:२९Copy Right :
https://ekantipur.com/news/2025/09/25/shoes-waiting-for-good-governance-24-46.html?fbclid=IwdGRjcANBjA9jbGNrA0GLDmV4dG4DYWVtAjExAAEe2L1lZsYT9e66wYdw6YnsdkHOudX6NlFC9L2zC3I62boMk5BM1tlsBQw6n40_aem_1v5R1MUiWubkY9Afj0o5mg
No comments:
Post a Comment