Skip to main content

नेपालमा ठूला जनआन्दोलनका प्रतिवेदन गुपचुप : सहिदको रगतमा लेखिएको सत्य सरकारकै गर्भमा


राजु श्रेष्ठ
clock२०८२ माघ १४, बुधबार १५:२०


 विराटनगर । ‘एक जुगमा एक दिन एकचोटि आउँछ

उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ…’

जब–जब देश परिवर्तनको मोडमा पुगेको दाबी गरिन्छ, गोपालप्रसाद रिमालका यी हरफहरू नेपाली समाजमा बारम्बार प्रयोग हुन्छन् । तर, ती हरफले कल्पना गरेको जस्तो परिवर्तन, सुशासन र न्याय आजसम्म नेपाली जनताले अनुभूति गर्न सकेका छैनन् । जनआन्दोलनहरू आए, व्यवस्था फेरिए, सत्ता पल्टिए, तर आन्दोलनको मूल्य चुकाएका सहिद, घाइते र बेपत्ताको सत्य भने राज्यकै दराजभित्र थन्किएको छ ।

२०४६ सालको पञ्चायत विरोधी पहिलो जनआन्दोलन, २०६२–०६३ सालको राजसंस्था विरोधी दोस्रो जनआन्दोलन र पछिल्लो समय २०८२ भदौ २३ र २४ गते जेनजी पुस्ताको अगुवाइमा भएको आन्दोलन— यी सबै आन्दोलनहरू नेपाली राजनीतिक इतिहासका निर्णायक मोड थिए । तर, ती आन्दोलनपछि जनताले खोजेको विकास, विधिको शासन, जवाफदेही शासन र अमनचयन कहाँ छ ? भन्ने प्रश्न आज अझ चर्को बनेको छ ।

यी सबै परिवर्तनको जग सहिदको रगत, घाइतेको पीडा र आन्दोलनमा होमिएका हजारौं नेपालीको त्याग हो । तर, आन्दोलनपछि बनेका सरकारहरूको व्यवहार हेर्दा ती योगदानको सम्मानभन्दा अवमूल्यन नै धेरै भएको देखिन्छ । हरेक आन्दोलनपछि ‘सत्यतथ्य छानबिन’का नाममा उच्चस्तरीय आयोग गठन गर्ने, आयोगले महिनौ लगाएर प्रतिवेदन बुझाउने र सरकार भने ती प्रतिवेदनलाई गुपचुप राख्ने – यो नेपालमा दोहोरिइरहेको राज्यको स्थायी चरित्रजस्तै बनेको छ ।

भदौ २३ र २४ गते सत्ता परिवर्तनको मागसहित नवयुवाहरूको अगुवाइमा भएको आन्दोलनमा ७४ जनाले ज्यान गुमाएपछि नवगठित सरकारले न्यायिक आयोग गठन गरेको थियो । आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीले ती घटनाको छानबिनका लागि ४५ दिनको म्यादसहित उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिन् ।

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन गरेको नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारीसहितको आयोगले हालसम्म प्रतिवेदन बुझाउन सकेको छैन । उल्टै म्याद थपिँदै छ । यसले अघिल्ला आयोगहरूको नियत सम्झाइरहेको छ, जहाँ प्रतिवेदन बन्नु नै अन्तिम उद्देश्य बनेको थियो, सार्वजनिक गर्नु होइन ।

२०६२–०६३ सालको दोस्रो जनआन्दोलन त्यसैको ज्वलन्त उदाहरण हो । तत्कालीन ७ राजनीतिक दलको अगुवाइमा २०६२ चैत २४ गते सुरु भएको आन्दोलन २०६३ वैशाख ११ गते टुंगिएको थियो । २६ जनाको ज्यान गएको र ४ हजारभन्दा बढी घाइते भएको उक्त आन्दोलनले राजसंस्थाको अन्त्य गर्दै गणतन्त्र स्थापना गर्‍यो ।

आन्दोलनपछि २०६३ वैशाखमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा ५ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरियो । रायमाझीको अध्यक्षतामा नेपाल पत्रकार महासंघका पूर्वसभापति हरिहर विरही, नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष रामप्रसाद श्रेष्ठ, अधिवक्ता रामकुमार श्रेष्ठ र नेपाल चिकित्सक संघका तत्कालीन महासचिव डा. किरण श्रेष्ठसहितको ५ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग, २०६३ गठन भएको थियो ।

७ महिना काम गरेर आयोगले २०६३ कात्तिक ३० गते प्रतिवेदन सरकारलाई बुझायो । हाल प्रतिवेदन बुझाएको १९ वर्ष पूरा भइसकेको छ । तर, दोषी ठहर गरिएका व्यक्ति र संस्थामाथि कारबाही त परै जाओस्, प्रतिवेदन नै सार्वजनिक गरिएको छैन । रायमाझी आयोगको प्रतिवेदन सरकारकै गर्भमा हराएर बसेको छ ।

त्यसभन्दा पनि पुरानो र गम्भीर उदाहरण २०४६ सालको पहिलो जनआन्दोलनपछि बनेको मल्लिक आयोग हो । पञ्चायती व्यवस्थाविरुद्ध भएको आन्दोलनमा ४५ जनाको मृत्यु र ५ सयभन्दा बढी घाइते भएका थिए । आन्दोलनपछि तत्कालीन पूर्वाञ्चल क्षेत्रीय अदालतका मुख्य न्यायाधीश जनार्दन मल्लिकको अध्यक्षतामा ३ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरियो ।

मल्लिकको अध्यक्षतामा बनेको आयोगमा मध्यमाञ्चल क्षेत्रीय अदालतका न्यायाधीशहरू उदयराज उपाध्याय र इन्द्रराज पाण्डे थिए । त्यो समयमा मल्लिकको नेतृत्वमा ३ सदस्यीय आयोग गठन भएको थियो । पोखराको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीहरूमाथि भएको दमनसमेत छानबिन गर्ने कार्यादेश आयोगलाई दिइएको थियो ।

आयोगले ५ महिनामा काम सकेर थपिएको १ महिनासहित २०४७ मंसिरमा २ खण्डको करिब ७ सय पृष्ठ लामो प्रतिवेदन बुझायो । तर, त्यो प्रतिवेदन आजसम्म पनि नेपाली जनताको पहुँचमा पुगेको छैन ।

विडम्बना के छ भने, २०४७ सालमै जारी भएको नेपाल अधिराज्यको संविधानले प्रत्येक नागरिकलाई सूचना माग्ने र पाउने मौलिक हक सुनिश्चित गरेको थियो । अहिलेको संविधानको धारा २७ ले पनि सूचनाको हकलाई स्पष्ट रूपमा मौलिक हक मानेको छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ अनुसार सार्वजनिक महत्वका विषयका सूचना नागरिकलाई दिनु राज्यको दायित्व हो ।

तर, मल्लिक आयोगको प्रतिवेदन अझै पनि ‘गोप्य’को खोलभित्र थुनिएको छ । नागरिककै सरकार बनेपछि पनि यस्तो प्रतिवेदन सार्वजनिक नगर्नु स्वयं संविधानको अपमान भएको विज्ञहरु बताउँछन् ।

यसै सन्दर्भमा विराटनगरबाट २०८२ असोज ९ गते गृह मन्त्रालयसँग सूचनाको हक प्रयोग गरी २०४६ र २०६२–०६३ का जनआन्दोलनपछि बनेका जाँचबुझ आयोगका प्रतिवेदनको प्रमाणित प्रतिलिपि माग गरियो । ऐनले तोकेको प्रक्रिया पूरा गरेर, दस्तुर तिर्न तयार रहेको उल्लेख गर्दै इमेलमार्फत निवेदन पेस गरिएको थियो ।

तर, गृह मन्त्रालयले कानुनअनुसार सूचना दिनुको साटो झारो टार्ने जवाफ दियो । दोस्रो जनआन्दोलनसम्बन्धी रायमाझी आयोगको प्रतिवेदन मन्त्रालयको अभिलेखमै नरहेको नदेखिएको भन्दै सूचना अधिकारीले हात झिके । १९ वर्षअघि सरकारलाई बुझाइएको प्रतिवेदन सरकारी अभिलेखमै नरहेको भन्नु आफैंमा राज्यको गैरजिम्मेवारीको प्रमाण हो । पहिलो जनआन्दोलनको मल्लिक आयोगको प्रतिवेदन भने ‘सार्वजनिक नगरिएको’ भन्दै सूचनाको हक ऐनको गलत व्याख्या गरेर दिन अस्वीकार गरियो ।


जेनजी आन्दोलनपछि बनेको सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल स्वयं अधिवक्ता हुन् । तर, उनको मन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले दिएको जवाफले वर्तमान सरकार पनि अघिल्ला सरकारजस्तै सूचना लुकाउने संस्कारमै रहेको देखाएको छ । सूचनाको हकअनुसार १५ दिनभित्र दिनुपर्ने सूचना नदिने, घुमाउरो र हास्यास्पद जवाफ दिने प्रवृत्तिले सुशासनको दाबीमाथि ठाडो प्रश्न उठाएको छ ।

सरोकारवालाहरुका अनुसार सहिदको रगत र नागरिकको त्यागबाट बनेको राज्यले आफ्नै इतिहास लुकाउनु लोकतन्त्र होइन । ‘आन्दोलनका प्रतिवेदन गुपचुप राख्नु भनेको सत्यसँग डराउनु हो । जबसम्म ती प्रतिवेदन सार्वजनिक हुँदैनन्, दोषीमाथि कारबाही हुँदैन र पीडितलाई न्याय दिइँदैन, तबसम्म हरेक जनआन्दोलन अधुरो नै रहनेछ,’ सरोकारवालाहरु भन्छन् ।

उनीहरुका अनुसार कवि रिमालले भनेजस्तो ‘एक जुगमा एक दिन’ आउला कि नआउला, तर सत्यलाई गर्भमै तुहाउने राज्य रहिरहेसम्म त्यो दिन नेपाली जनताले देख्न पाउने छैनन् । नेपालका ठूला जनआन्दोलनका प्रतिवेदन गुपचुप राख्दै सहिदको रगतमा लेखिएको सत्य सरकारकै गर्भबाट निस्किन नदिनु दुःखद् भएको उनीहरु बताउँछन् ।


https://mulukikhabar.com/2026/01/102645/

Comments

Popular posts from this blog

॥ सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि गरिएको एउटा सार्थक बहस ॥ NTV ITAHARI CHANNEL ॥

https://youtu.be/qUjpH2sCtds?si=Zcq6hmtvBupGtwGE सन्दर्भ : १९ औ राष्ट्रिय सूचना अधिकार दिवस छयांकन मिति : २०८२ श्रावण ३० गते शुक्रबार,  स्थान : NTV इटहरी,  प्रशारण :२०८२ भदौ ३ गते मंगलबार । राष्ट्रिय सूचना दिवस २०८२ का अवसरमा नेपाल टेलिभिजन ईटहरी द्वारा प्रसारित बिशेष सम्वाद कार्यक्रम । सूचनाको हककाे व्यवहारिक प्रयाेग र ऐनकाे कार्यान्वयनका निम्ति यस्तो कार्यक्रम काेसेढुङ्गाे हुने विश्वास लिएको छु । यसका लागि NTV ईटहरी प्रमुख बसन्त रुपाखेती, कार्यक्रम प्रस्ताेता जीवन कुमार याेङ्हाङ्ग, कार्यक्रम अधिकृत माधव घिमिरे, प्रदेश सचिवद्वय एकदेव अधिकारी, रामप्रसाद आचार्य, आदर्णिय गुरु यज्ञप्रसाद शर्मा अन्य सबैमा समय र अवसरका लागि हृदय देखि नै धन्यवाद । राष्ट्रिय सूचना दिवसकाे सबैमा शुभकामना !! https://youtu.be/qUjpH2sCtds?si=IlJn85X25dNAo32G   https://m.youtube.com/watch?si=IlJn85X25dNAo32G&fbclid=IwdGRjcANBkHljbGNrA0GQdmV4dG4DYWVtAjExAAEehZEg05r9DyxecuhlOxzt1ux9gu7eOUqxt9LaZEoKPzqPRAxYk0BdOoHCvq8_aem_eSJh-w5PvZg823CH9GpgXQ&v=qUjpH2sCtds&feature=youtu.be

यसअघिका ठूला परिवर्तनकारी आन्दोलनपछि गठित जाँचबुझ आयोगका प्रतिवेदनहरू के भए?

  भदौ चौथो साता सिंहदरबारमा सत्ता परिवर्तन गर्ने गरी नवयुवाहरूको अगुवाइमा भएको प्रदर्शनमा ७२ जनाले ज्यान गुमाएपछि नवगठित सरकारले जाँचबुझका लागि न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले बीबीसीसँगको अन्तर्वार्तामा त्यस्तो आयोगलाई एक महिनाको समय दिइने र अपुग भए अतिरिक्त १५ दिनसम्म थप समय दिन सकिने बताएकी छन्। सरकारले आयोग गठनको घोषणा गरिरहँदा बीबीसीले विसं २०४६ साल र २०६२/०६३ सालका जनआन्दोलनपछि गठन गरिएका जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे जान्ने प्रयास गरेको छ। सबैभन्दा पहिले तत्कालीन सात राजनीतिक दलको अगुवाइमा २०६२ साल चैत २४ गतेबाट सुरु भएर वैशाख ११ गते टुङ्गिएको आन्दोलनपछि सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनबारे चर्चा गरौँ। रायमाझी आयोगले कसलाई दोष देखायो? दोस्रो जनआन्दोलन पनि भनिने विसं २०६२/०६३को आन्दोलनमा २६ जनाको मृत्यु र चार हजार जनाभन्दा धेरै घाइते भएपछि २०६३ वैशाखमा गठन गरिएको आयोगमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश रायमाझी अध्यक्ष थिए। सदस्यहरूमा नेपाल पत्रकार महासङ्घका पूर्व सभापत...