Skip to main content

मिथ्या सूचना के हो

 सञ्चार गर्ने क्रममा मिथ्या खबरको प्रयोग पत्रकारिता सुरु हुनुभन्दा धेरै पहिलेदेखि नै भएको पाइन्छ । महाभारत युद्धमा द्रोणाचार्यलाई पराजित गर्न फैलाइएको अश्वत्थामा मृत्युको खबरदेखि पछिल्लो समयमा पीत पत्रकारिता वा प्रोपगन्डा भनिएका सबै सञ्चार सामग्रीलाई मिथ्या सूचनाका रूपमा लिन सकिन्छ ।

आमसञ्चार साधनको विकासका कारण मिथ्या सूचना धेरै जनताबीच पुग्न सहज भएको हो । इन्टरनेटको विकास र विशेषगरी आममानिसले सहजरूपमा सामग्री प्रकाशन र वितरण गर्न सक्ने सोसल मिडियाको विस्तारका कारण मिथ्या सूचनाको प्रयोग अझ बढी सहज र धेरैबीच पुग्न सक्ने भएको छ ।

आमनागरिक, समाज र राजनीतिमा विशेष प्रभाव देखिन थालेपछि यसको चर्चा एकाएक बढ्न पुगेको हो । अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा आमअपेक्षा विपरित अप्रत्याशितरूपमा डोनाल्ड ट्रम्प विजयी भएपछि त्यसको एक कारक मिथ्या सूचना र तिनको व्यापकतालाई लिइएको छ । जसमा फेसबुक, ट्विटर जस्ता सोसल मिडियाको विशेष भूमिका थियो ।

मिथ्या सूचना जुनसुकै विषयमा पनि हुन सक्छ । तर विश्वभर निर्वाचनका क्रममा मिथ्या सूचनाको प्रयोग बढ्दो छ । त्यसलाई इन्टरनेटले थप सहज पारिदिएको छ ।

नेपालको परिपे्रक्ष्यमा पनि मिथ्या सूचना नयाँ होइन । पत्रपत्रिकामा समेत प्रोपगन्डाका रूपमा अथवा पत्रकारका कमजोरीका कारण मिथ्या सूचना बेलाबेलामा आउने गरेका छन् ।

मिथ्या सूचनाको प्रकाशन, प्रयोग वा प्रभावका कारण नेपाली समाज र राजनीतिमा हुन सक्ने असर न्यूनीकरण गर्न सहयोग पुर्याउने उद्देश्यले सेन्टर फर मिडिया रिसर्च नेपालले मिथ्या समाचारसम्बन्धी यो जानकारीमूलक सामग्री तयार पारेको हो ।

मिथ्या सूचनाको वर्गीकरण

डिजिटल युगमा सूचनाको विश्वसनीयता र सत्यताबारे काम गर्ने फस्ट ड्राफ्ट न्युजले मिथ्या समाचारलाई ७ भागमा वर्गीकरण गरेको छ :

१. कुनै हानि गर्ने उद्देश्य नभएका तर पाठकलाई मूर्ख बनाउन सक्ने रमाइलोका लागि तयार पारिएका व्यङ्ग्यात्मक सामग्री ।

२. शीर्षक वा तस्बिरसँग मूल लेखन मेल नखाने भ्रमपूर्ण सम्बन्धका आधारमा बनाइएका सामग्री  ।

३. कुनै सूचनाको अनर्थ प्रयोग गरी कुनै विषय वा व्यक्तिबारे भ्रम सिर्जना गर्ने सामग्री ।

४. कुनै सही सूचना वा घटना वा अभिव्यक्ति वा समाचारलाई गलत सन्दर्भमा प्रयोग गरिएको सामग्री ।

५. कुनै आधिकारिक स्रोत वा व्यक्तिका नामका झुटो अभिव्यक्ति प्रयोग गरिएका सामग्री ।

६. कुनै तथ्य वा तथ्याङ्क वा घटना वा तर्क वा तस्बिरलाई तोडमरोड गरिएका सामग्री ।

७. हुँदै नभएका घटना वा तथ्य वा अभिव्यक्ति वा स्रोत प्रयोग गरिएका पूर्णरूपले गलत सामग्री ।

मिथ्या सूचना कतिपय अवस्थामा रमाइलोका लागि व्यङ्ग्यका रूपमा (जस्तो १) हुन सक्छ भने कतिपय अवस्थामा पत्रकार वा सामग्री प्रकाशकको गलत बुझाइ वा गल्तीले गर्दा हुन सक्छ (माथिका २, ३ र ४) । माथिका ५, ६ र ७ जस्ता सामग्री भने जनमत वा निर्णयमा प्रभाव पार्ने अभिप्रायले नियतवश प्रकाशन र वितरण गरिने मिथ्या सूचना हुन् जसले सबैभन्दा बढी हानि पुर्याउँछन् ।

कुनै पनि सामग्री समाचार हुनका लागि त्यसमा प्रयोग गरिएका तथ्य, तथ्याङ्क, घटना, घटनाक्रम, स्रोत, व्यक्ति, अभिव्यक्ति, तस्बिर, समय र सन्दर्भ सबै सही, पूर्ण र तर्कसङ्गत हुनु जरुरी हुन्छ । यीमध्ये कुनै एकमा प्रश्न गर्न सकिने अवस्थामा त्यो सामग्री मिथ्या सूचना हुने सम्भावना रहन्छ ।

मिथ्या सूचना कसरी चिन्ने ?

कुनै पनि सामग्री मिथ्या सूचना हो कि होइन भनेर चिन्न तथा पहिचान गर्न सजिलो छैन किनभने मिथ्या सूचना तयार गर्नेहरूले सकेसम्म त्यो सामग्री विश्वसनीय देखाउने प्रयास गर्छन् ।

आमपाठकका लागि कुनै पनि सामग्रीको तथ्य, तथ्याङ्क, घटना, घटनाक्रम, उद्धृत स्रोत वा व्यक्ति, अभिव्यक्ति, तस्बिर, समय र सन्दर्भ सबै सही, पूर्ण र तर्कसङ्गत छन् कि छैनन् भनेर छिटो परीक्षण गर्नु गाह्रो कार्य हो ।

आमसञ्चार माध्यममा आउने सामग्री कसरी तयार पारिन्छ र तिनमा के/कस्तो कमजोरी रहन सक्छ भनेर यस्ता सामग्री र त्यसमा भएका सूचना सञ्चार र सूचना साक्षरता (मिडिया एन्ड इन्फर्मेसन लिटरेसी) को अभावमा आलोचनात्मक ढङ्गले विश्लेषण गर्ने क्षमता कम भएको अवस्थामा मिथ्या सूचना पत्ता लगाउन सजिलो छैन ।

तर केही कुरामा ध्यान पुर्याउने हो भने मिथ्या सूचना पहिचान गर्न असम्भव भने हुँदैन ।

तल उल्लिखित पक्षहरूमाथि विचार गर्ने हो भने धेरैजसो मिथ्या सूचना पत्ता लाग्छन् वा मिथ्या सूचना हुनसक्ने आधार देखिन्छन् :

१. सामग्री प्रकाशकको विश्वसनीयता : कुनै पनि सामग्री प्रकाशन भएको साइट कत्तिको परिचित हो ? मिथ्या समाचारहरू प्रायः नामै नसुनिएका वा नयाँ वा मूल सामग्री पढ्नै गाह्रो हुने गरी विज्ञापनले भरिएका वा राम्रो डिजाइन नभएका साइटमा प्रकाशित हुन्छन् । प्रकाशन वा सेयर गरिएका प्रकाशकका पुराना सामग्री हेरेर पनि ती प्रकाशनको विश्वसनीयता, आग्रह तथा पूर्वाग्रह थाहा पाउन सकिन्छ ।

२. साइटको नाम र ठेगाना : नाम चलेका मिडियाहरूको नामसँग मिल्दोजुल्दो वा झुक्याउनेखालका साइट छन् भने विश्वास गरिहाल्नु हुँदैन । कान्तिपुर र कान्तिपुर न्युज दुवै कान्तिपुर प्रकाशनकै हुँदैनन् । नागरिकन्युजडटकम र नागरिकन्युजडटब्लगडटकम एकै होइनन् । सामग्री प्रकाशित भएको साइटको ‘हाम्रो बारेमा’ पाना वा साइटको पुछारमा रहेका नाम, ठेगाना र सम्पर्क नम्बर हेरेर पनि साइटको विश्वसनीयता खुट्याउन सकिन्छ । साइट कसको नाममा र कहिले दर्ता छ भन्ने जानकारी पनि उपयोगी हुन्छ ।

२. शीर्षक र सामग्री : इन्टरनेटमा पाठक तान्न नाम चलेकै साइटले पनि झुक्याउनेखालका वा सनसनीपूर्ण वा आकर्षक शीर्षक राख्न सक्छन् । त्यसैले शीर्षक र पहिलो अनुच्छेद मात्रै पढेर विश्वास गरिहाल्नु हुँदैन । कम्तीमा ४–५ अनुच्छेद पढेर ती अनुच्छेदमा शीर्षकलाई पुष्टि गर्ने तथ्य छन् कि छैनन् विचार गर्नुपर्छ । फाइल तस्बिर नभनी पुरानो तस्बिर प्रयोग गरिएको छ वा तोडमरोड गरिएको छ भने त्यसमा पनि विचार पुर्याउनुपर्छ ।

३. लेखक वा पत्रकारको नाम : सामग्री लेख्ने/तयार पार्नेको नाम प्रायः शीर्षक तल वा सामग्रीको अन्त्यमा हुन्छ । यस्तो नाम सुनिरहेको हो वा होइन भन्ने विचार गर्न सकिन्छ । सामग्री पत्यार लाग्नेखालको छैन, लेखकको नाम पनि छैन र संवाददाता वा विशेष संवाददाता भनिएको छ भने शङ्का गर्नुपर्ने हुन्छ । नाम छ भने त्यो नामलाई गुगलमा खोजेर समाचारहरू लेखिरहेको नाम हो कि होइन भन्ने थाहा पाउन सकिन्छ ।

४. तथ्य र अभिव्यक्तिका स्रोत : सामग्रीमा उल्लिखित स्रोत र तिनका अभिव्यक्ति विश्वसनीय हुनुपर्छ । नामै नसुनेका संस्था वा व्यक्तिलाई स्रोतका रूपमा प्रयोग गर्नु वा असम्बन्धित लाग्ने स्रोतहरूको प्रयोग मिथ्या समाचारका सूचक हुन् । समाचारमा उल्लिखित विज्ञहरू वा समाचारमा प्रयोग भएका स्रोतहरूको सोसल मिडिया वा साइट हेर्न पनि सकिन्छ । नाम नखोलिएका स्रोत (जस्तै– ‘नाम नखोल्ने सर्तमा एक अधिकारी’, ‘बैठकमा सहभागी एक नेता’, ‘एक उच्च अधिकारी’, ‘हाम्रो स्रोत’ वा ‘एक विज्ञ’ आदि) प्रयोग गरिएको छ भने ती स्रोतका तथ्य र अभिव्यक्तिमा प्रश्न गर्नुपर्छ ।

५. प्रकाशकको सङ्ख्या : कुनै पनि सामग्री एक स्थानमा मात्रै प्रकाशन भएको छ र अन्य समाचार साइटमा त्यो तथ्य वा सूचना वा घटनाबारे समाचार प्रकाशन भएको छैन भने शङ्का गर्नुपर्छ । एउटै समाचार धेरै साइटमा प्रकाशित हुँदैमा पनि विश्वसनीय हुँदैनन् । कुनै पनि सामग्रीबारे आफूले पहिल्यैदेखि प्रयोग गरिरहेको मूलधारका मिडियाका साइटमा खोज्नु उचित हुन्छ । कुनै सामग्रीबारे फरक–फरक मिडियामा विरोधाभाषपूर्ण तथ्य वा सूचना देखिन पनि सक्छ ।

६. प्रकाशित मिति : कतिपय अवस्थामा पुराना समाचार गलत समय र सन्दर्भमा प्रयोग गरिएका हुन सक्छन् । कुनै पनि समाचार पढ्दा त्यसको प्रकाशित मिति हेर्नुपर्छ । अझ सोसल मिडियामा त पुराना सामग्री पनि नयाँझैँ प्रस्तुत हु्न सक्छ ।

७. पक्ष/विपक्ष वा आग्रह तथा पूर्वाग्रह : पाठकको पक्ष र विपक्ष वा आग्रह तथा अनुग्रह हुन्छन् । कुनै पनि सामग्रीले आफ्नो विचार वा पक्ष वा आग्रह वा त्यसको फाइदासँग मेल खाँदैमा त्यो सामग्री सत्य समाचार हुँदैन । निष्पक्ष भएर सामग्री पढियो भने त्यो मिथ्या हो कि होइन भन्ने थाहा पाउन सहज हुन्छ ।

त्यसैगरी सामग्रीहरू सोसल मिडियामा सेयर गर्नेको आग्रह र अनुग्रह पनि हेर्नु जरुरी छ । निश्चित दललाई समर्थन गर्ने व्यक्ति वा पृष्ठमा सोही दललाई फाइदा पुग्ने सामग्रीमात्रै सेयर गरिन्छन् । सेयर गर्ने व्यक्ति विश्वसनीय हुँदैमा सेयर गरिएका सामग्री विश्वसनीय हुँदैनन् ।

८. आलोचनात्मक दृष्टि : कुनै पनि सामग्री पढ्दा यो मिथ्या सूचना हुन सक्छ भन्नेमा सचेत हुनुपर्छ । र, सोहीअनुसार लिनु पनि पर्छ । कुनै सामग्री गज्जब छन् वा खुसी, रिस वा दुःखजस्ता मानवीय आवेगलाई तुरुन्तै जागृत गर्नेखालका छन् भने ती सामग्री शङ्कास्पद हुन्छन् । कुनै पनि सामग्री झट्ट विश्वास गर्न नसकिनेखालको वा आश्चर्यचकित पार्नेखालको वा होइन होला लाग्नेखालको वा सारै रमाइलोखालको छ भने त्यस्ता सामग्रीमा शङ्का गर्नुपर्छ । र, अन्य थप स्रोत हेरेरमात्र विश्वास गर्नुपर्छ । व्यावसायिक पत्रकार वा मिडियाले समाचारमा सामान्यतया धेरै विशेषण प्रयोग गर्दैनन् यसर्थ विशेषणको अनावश्यक प्रयोग गरिएका सामग्री मिथ्या समाचार हुने सम्भावना बढी हुन्छ ।

९. समाचारका आधारभूत तत्व : व्यावसायिक पत्रकार र मिडियाका सामग्रीमा समाचारका आधारभूत तत्व पूरा भएका हुन्छन् । कुनै पनि समाचारले पहिलो अनुच्छेदमै वा केही अनुच्छेदभित्र ६‘क’ प्रश्नको जवाफ हुनुपर्छ– के, कहाँ, कसरी, कहिले, कसले र किन । त्यसैगरी समाचारमा पक्ष छन् भने ती सबैका भनाइ हुनुपर्छ । एकतर्फी भनाइमात्रै भएका वा कुनै पक्षलाई आरोपमात्रै लगाइएका र उसका भनाइ संलग्न नगरिएका समाचारमा आधारभूत तत्व पूरा भएका हुँदैनन् ।

१०. भाषा र व्याकरण : विश्वसनीय समाचारमा ज्यादै कममात्र भाषागत वा व्याकरणका गल्ती हुन्छन् । कुनै पनि सामग्रीका भाषा र व्याकरणमा धेरै गल्ती छन् वा तिनलाई सजिलै ठम्याउन सकिन्छ भने बुझ्नुपर्छ, ती सामग्री हतारमा लेखिएको हो वा व्यावसायिक पत्रकारले लेखेको हैन अर्थात पत्रकारिताका चरणहरू पार नगरेका सामग्री हुन् जुन मिथ्या समाचारको सङ्केत हो ।

११. समाचारलाई दिइएको स्थान : कुनै सामान्य घटनालाई ठूलो स्थान वा ठूलो समाचारलाई सानो स्थान दिइएको छ भने ती सामग्रीलाई शङ्कास्पद तरिकाले हेर्नुपर्छ । महत्वका आधारमा समाचारले आफ्नो स्थान निर्धारण गर्छ । असामान्यरूपमा सानो वा ठूलो स्थान दिने काम कि अनावश्यक महत्व दिनका लागि कि त लुकाउने मनसायले गरिन्छ ।

मिथ्या सूचना: के गर्ने ? के नगर्ने ?

मिथ्या सूचना व्यापक हुनबाट रोक्नु नागरिक, पत्रकार, मिडिया, राजनीतिक दल र अधिकारकर्मी सबैको कर्तव्य हो ।

मिथ्या सूचनाले दिने झुटो जानकारीले नागरिकलाई गलत निर्णय गर्न प्रेरित गर्छ । यसर्थ लोकतन्त्र बलियो बनाउन मिथ्या सूचनाबाट जोगिन जरुरी हुन्छ ।

  1. कुनै पनि सामग्री पढेपछि तुरुन्तै विश्वास नगर्नुहोस्, प्रकाशित सामग्री मिथ्या हुन सक्छन् भनेर सचेत हुनुहोस् ।
  2. समय छ भने सामग्री सही छन् कि छैनन् भनेर परीक्षण गर्नुहोस् ।
  3. कुनै पनि सामग्री आफ्नो सोसल मिडियामा सेयर गर्न वा त्यसका सूचनाका आधारमा आफ्नो विचार राख्न हतार नगर्नुहोस् ।
  4. सोसल मिडियामा कतिपय अवस्थामा प्रयोगकर्ताले पढेका आधारमा समाचार धेरैमा देखिने हुँदा शीर्षकमा शङ्का लागेका वा गलत साइटमा प्रकाशित सामग्री पढ्न खोजेर समय खेर नफाल्नुहोस् ।
  5. सोसल मिडियामा सेयर गरिएका विचार वा सामग्री को र कति जनामा पुग्छ भन्ने कुराको अनुमान गर्न कठिन हुन्छ । यसर्थ अनावश्यक कुरा वा गलत सूचना रमाइलो वा अन्य कुनै कारणले पनि लेख्ने वा सेयर गर्ने नगर्नुहोस् ।
  6. मिथ्या समाचार हो भन्ने थाहा पाउनेबित्तिकै आफ्नो सोसल मिडियामा त्यो मिथ्या समाचार हो भनेर जानकारी गराउनुहोस् । तर यसरी जानकारी गराउँदा त्यो समाचारको लिङ्क भने नराख्नुहोस् ।
  7. कुनै पनि सामग्री सोसल मिडियामा सेयर गर्दा वा लेख्दा त्यो सामग्री सही र तथ्यपरक छ भन्ने पूर्ण विश्वस्त भएपछि मात्रै राख्नुहोस् । अलिकति पनि शङ्का छ भने कुनै पनि अवस्थामा (यो के हो भनेर सोध्नसमेत) त्यो सामग्री सेयर नगर्नुहोस् ।
  8. कुनै पनि सामग्री सेयर गरेपछि त्यसमा आएका प्रतिक्रिया हेर्नुहोस् र कसैको भनाइले शङ्का उत्पन्न गरेमा तुरुन्तै सच्याउनुहोस् । अरु कसैले सेयर गरेको सामग्री मिथ्या भएको थाहा भए कमेन्टमार्फत जानकारी गराउनुहोस् ।
  9. कुनै सामग्री मिथ्या भए त्यो प्रकाशित सोसल मिडियामा रिपोर्ट गर्न सकिन्छ । भाषागतरूपमा नेपाली भाषामा प्रकाशित सामग्रीका लागि यो त्यति उपयोगी नभए पनि गलत फोटो प्रयोग गरेको अवस्थामा उपयोगी हुन सक्छ ।1


Copy Right :

https://nepalfactcheck.org/what-is-misinformation/

(सेन्टर फर मिडिया रिसर्च नेपालले २०७४ काे निर्वाचनलाइ लक्षित गरि याे सामग्री तयार गरेकाे हाे । )



Comments

Popular posts from this blog

॥ सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि गरिएको एउटा सार्थक बहस ॥ NTV ITAHARI CHANNEL ॥

https://youtu.be/qUjpH2sCtds?si=Zcq6hmtvBupGtwGE सन्दर्भ : १९ औ राष्ट्रिय सूचना अधिकार दिवस छयांकन मिति : २०८२ श्रावण ३० गते शुक्रबार,  स्थान : NTV इटहरी,  प्रशारण :२०८२ भदौ ३ गते मंगलबार । राष्ट्रिय सूचना दिवस २०८२ का अवसरमा नेपाल टेलिभिजन ईटहरी द्वारा प्रसारित बिशेष सम्वाद कार्यक्रम । सूचनाको हककाे व्यवहारिक प्रयाेग र ऐनकाे कार्यान्वयनका निम्ति यस्तो कार्यक्रम काेसेढुङ्गाे हुने विश्वास लिएको छु । यसका लागि NTV ईटहरी प्रमुख बसन्त रुपाखेती, कार्यक्रम प्रस्ताेता जीवन कुमार याेङ्हाङ्ग, कार्यक्रम अधिकृत माधव घिमिरे, प्रदेश सचिवद्वय एकदेव अधिकारी, रामप्रसाद आचार्य, आदर्णिय गुरु यज्ञप्रसाद शर्मा अन्य सबैमा समय र अवसरका लागि हृदय देखि नै धन्यवाद । राष्ट्रिय सूचना दिवसकाे सबैमा शुभकामना !! https://youtu.be/qUjpH2sCtds?si=IlJn85X25dNAo32G   https://m.youtube.com/watch?si=IlJn85X25dNAo32G&fbclid=IwdGRjcANBkHljbGNrA0GQdmV4dG4DYWVtAjExAAEehZEg05r9DyxecuhlOxzt1ux9gu7eOUqxt9LaZEoKPzqPRAxYk0BdOoHCvq8_aem_eSJh-w5PvZg823CH9GpgXQ&v=qUjpH2sCtds&feature=youtu.be

सम्पत्ति विवरण प्रदेश न्. १ मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको

    मुख्यमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण प्रदेश न्. १        https://ocmcm.p1.gov.np/329

यसअघिका ठूला परिवर्तनकारी आन्दोलनपछि गठित जाँचबुझ आयोगका प्रतिवेदनहरू के भए?

  भदौ चौथो साता सिंहदरबारमा सत्ता परिवर्तन गर्ने गरी नवयुवाहरूको अगुवाइमा भएको प्रदर्शनमा ७२ जनाले ज्यान गुमाएपछि नवगठित सरकारले जाँचबुझका लागि न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले बीबीसीसँगको अन्तर्वार्तामा त्यस्तो आयोगलाई एक महिनाको समय दिइने र अपुग भए अतिरिक्त १५ दिनसम्म थप समय दिन सकिने बताएकी छन्। सरकारले आयोग गठनको घोषणा गरिरहँदा बीबीसीले विसं २०४६ साल र २०६२/०६३ सालका जनआन्दोलनपछि गठन गरिएका जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे जान्ने प्रयास गरेको छ। सबैभन्दा पहिले तत्कालीन सात राजनीतिक दलको अगुवाइमा २०६२ साल चैत २४ गतेबाट सुरु भएर वैशाख ११ गते टुङ्गिएको आन्दोलनपछि सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनबारे चर्चा गरौँ। रायमाझी आयोगले कसलाई दोष देखायो? दोस्रो जनआन्दोलन पनि भनिने विसं २०६२/०६३को आन्दोलनमा २६ जनाको मृत्यु र चार हजार जनाभन्दा धेरै घाइते भएपछि २०६३ वैशाखमा गठन गरिएको आयोगमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश रायमाझी अध्यक्ष थिए। सदस्यहरूमा नेपाल पत्रकार महासङ्घका पूर्व सभापत...